काठमाडौं: जातीय छुवाछुतको सिकार हुँदा आफूमाथि अफवाह फैलाएको भन्दै रूपा सुनारले ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी छिन्।
ती अनलाइनलाई उनले साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन पनि माग गरेकी छिन्।
नेपाल पाना, खबरमाला, कालापानी, इलाकापानी, मिडिया२० पोस्ट, आजको नयाँ, ग्लालेक्सी सेभेन एक्सप्रेस, साझा मिडिया र नेपाल पहरा डटकमविरूद्ध उजुरी दिएकी हुन्।
ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख गरिएको छ
प्रेस काउन्सिलले जारी गरेको आचारसंहितामा सम्बन्धित पक्षको भनाइलाई स्थान दिनुपर्ने प्रावधानलाई समेत लत्याएर ती अनलाइनले चरित्र हत्या गरेको सुनारले दाबी गरेकी छिन्।
जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएको लगायत आरोप लगाएर अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी छिन्।
कोठा खोज्न जाँदा दलित भएको थाहा पाएपछि इन्कार गरेको भन्दै उनले सरस्वती श्रेष्ठविरूद्ध उजुरी दिएकी थिइन्। श्रेष्ठ रिहा भइसकेकी छिन्।
