काठमाडौं, साउन ३ गते । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस शुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार बिहान ११ बजेबाट इजलास शुरु भएको गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँका अनुसार अहिले इजलासमा निवेदकको तर्फबाट बहस शुरु भएको छ । निर्वाचन आयोगले गठन गरेको इजलास प्रक्रिया अदालतको प्रक्रिया जस्तै हुने बताउनुभयो ।
‘बहस सकिएपछि आयोगले निर्णय सुनाउनेछ,’ उहाँले भन्नुभयो, ‘तर, आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ ।’
निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।

