नन्दलाल खरेल
संसदीय अभ्यासबाट संसदमा गई
दलाल पुँजीवादलाई संस्थागत गराई
प्राकृतिक स्रोत साधन विदेशीलाई बेचाई
अकुत सम्पत्ती कमिसनबाट कुम्लाई
सधैं आफु कम्युनिष्टको दुवाई दियाई
सत्तामा गएको कम्युनिष्ट पार्टी हामीलाई चाहिंदैन ।
धनी र गरिव बीचको खाडल बढाई
विदेशी शक्तिलाई रिझाउदै कुर्सि बचाई
संघीयता र गणतन्त्रको नारा लगाई
वर्ग संघर्षभन्दा वर्ग समन्वयको बाटो अपनाई
सधैं गरिव र उत्पीडनको दुवाई दियाई
सत्तामा गएको कम्युनिष्ट पार्टी हामीलाई चाहिदैन ।
असारे भेलमा विकासको वाढी बगाई
भ्रष्टाचारीलाई संरक्षण गर्दै मन्त्री बनाई
परनिर्भरताको ब्यारोमिटर उत्कर्ष गराई
चुरेको ढाडमा विनासको डोजर कुदाई
बालुवा, गिट्टी र ढुंगा तल्तिर निर्यात गराई
समृद्ध नेपाल सुखी नेपालीको नारा लगाई
सत्तामा गएको कम्युनिष्ट पार्टी हामीलाई चाहिदैन ।
संघीयताको नारा दिई गरिब वर्गलाई कर लगाई
समानुपातिकको व्यवस्थालाई अत्याधिक दुरुपयोग गराई
आफ्नै श्रीमती र नातागोतालाई सांसद बनाई
चर्काे राष्ट्रवादको संधैसंधै नारा लगाई
पार्टीमा एकले अर्कोलाई छिर्के लगाई
युवा जनशक्तिलाई रोजगारको लागि पलायन गराई
सत्तामा गएको कम्युनिष्ट पार्टी हामीलाई चाहिदैन ।
गरिव उत्पीडन सर्वहाराको दुवाई गराई
चुच्चे नक्सा र रेल/पानीजहाजको फुर्ति लगाई
आयतमुखी अर्थतन्त्रको सधैं बढवा गराई
भएका उद्योग कारखानालाई रुग्ण गराई
रेमिट्यान्स अर्थतन्त्रलाई सधैं प्रोत्साहित गराई
स्वास्थ्य शिक्षा क्षेत्रलाई नीजिकरण गराई
सत्तामा गएको कम्युनिष्ट पार्टी हामीलाई चाहिदैन ।

