आफ्नै सहोदर दाजुबाट जमिन हडप्नका लागि कञ्चनपुरका एक युवकले जिउँदै आमाबाबुको मृत्युदर्ता गराएका छन ।
बेदकोट नगरपालिका– ५ धरमपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हडप्नका लागि भारतमा बस्दै आएका आमाबाबुको मृत्युदर्ता गराएका हुन ।
सुरेन्द्रका आमाबाबु भीमदत्त नगरपालिका– १० तिलकेनी बस्दै आएका थिए । लामो समयदेखि सुरेन्द्रका बाबु झिक्ले लुहार र आमा चुकी लुहार भारतमा बस्दै आएका थिए ।
लुहारदम्पतीका कान्छा छोरा सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हत्याउन जिउँदै आमाबाबु मरेको देखाएर आफ्नो नाममा लालपुर्जा बनाएका छन् ।
भीमदत्त नगरपालिका– १० तिलकेनीबाट सुरेन्द्र लुहारले जमिन बेचेर बेदकोट नगरपालिका– ५ धमरपुरमा किनेका छन् । उनले धमरपुरकोे ६ कट्टा जमिन आमाबाबु मरेको देखाएर नक्कली प्रमाण खडा गरेर आफ्नो नाममा सारेका छन् ।
कोरोना महामारीको मौका छोपी सुरेन्द्रले गत वर्ष असोजमा भीमदत्त नगरपालिका– १० वडा कार्यालयमा आमाबाबु मरेको मृत्युदर्ता गराएका हुन् ।
सुरेन्द्रले वडादेखि मालपोत कार्यालयलाई झुक्याएर आफ्नो नाममा जमिन ल्याएलगत्तै बैंक र वित्तीय संस्थामा लालपुर्जा राखेर ऋणसमेत निकालेका छन् ।
सुरेन्द्रका दाजु भीमदत्त नगरपालिका– १० गड्डाचौकी बस्दै आएका छन् । अहिले सुरेन्द्रका बाबुआमा भारतबाट फर्किएपछि उनले मृत्युदर्ता गराएर जमिन आफ्नो नाममा गरको तथ्य बाहिरिएको हो ।
