काठमाडौँ: आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।
सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ ।
पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एक/दुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।
जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।
थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बताइएको छ ।
साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् ।

