कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो। दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन्।
काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार डुंगामा सवार १० जनामध्ये तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ वर्षका छोरा रहेको डिएसपी घर्तीले बताए।
डुंगा पल्टिँदा पाँच जनाको सकुशल उद्धार भएको छ। दुई जना घाइते भएको प्रहरीले कार्यालयले जनाएको छ। १९ वर्षीया धनसरा सलामी मगर गम्भीर घाइते छन् भने एक महिनाका कर्ण सलामी सामान्य छन्।
इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ। राँगा मलेखा मोहन्याल गाउँपालिकाको विकट क्षेत्र हो। त्यहाँ एउटा खोप केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरामा रहेको स्वास्थ्य चौकीमा खोप लगाउन आउनु पर्छ।
