काठमाडौं: भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी दल नेकपा एमाले आन्दोलनमा उत्रिएको छ।
सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै एमालेले बिहीबार विरोध प्रदर्शन गर्न लागेको हो।
राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा देउवा सरकारको जनघाति निर्णयविरुद्ध सशक्त दबाब सिर्जना गर्न दिउँसो ३ बजे प्रदर्शन गर्ने भएको छ।
पूर्व मन्त्री एवम् सांसद महेश बस्नेतले १ लाख ८८ हजार भूमिहीन सुकुम्बासीहरुको लालपूर्जा दिने अन्तिम अवस्थामा, आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध जनता आन्दोलन गर्न बाध्य भएको बताएका छन्।
बिहीबार एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ।
बुधबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गरेका थिए।
विज्ञप्तिमा उनले भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीका हक र हितप्रति एमाले सधैँभरि सजग र संवेदनशील रहेको उल्लेख गर्दै भूमिहीन, सुकुम्बासीका जायज माग तथा आवाजप्रति पार्टीको सधैं ऐक्यबद्धता रहनेसमेत स्पष्ट पारे।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको थियो।

