-माधव घिमिरे ‘अटल’
नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन तथा वसन्त काव्य गोष्ठीको कार्यक्रम सहित आफ्नो आठौँ अधिवेशन जेठ १० गते शनिबारका दिन सम्पन्न गर्यो ।
समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व एवम् वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौँ स्थित सभाकक्ष (रुफटप हल) मा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणबाट सेवा निवृत्त हुनु भएका साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई दोसल्ला र नगद राशि सहित ‘अमरज्योति साहित्य सम्मान- २०८२’ समर्पण गरियो । यसरी नै अमरज्योति साहित्यिक त्रैमासिकको ६६ औँ अङ्क (२०८२, जेठ अङ्क) समेत लोकार्पण गरियो ।
सो समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा प्रमुख अतिथि प्रमोद प्रधान, विशेष अतिथिहरू-विष्णु बहादुर सिंह, पुण्य प्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मन्जुश्री प्रधान लगायतका स्रष्टाले रचना वाचन गर्नुभयो । सम्मानित साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहालले साहित्यिक समाजले योगदानको उचित मूल्याङ्कन गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गर्दै आ-आफ्नो सिर्जना सुनाउनु भयो।
उक्त कार्यक्रममा रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा अच्युतप्रसाद पौडेल ‘चिन्तन’,रेणु अधिकारी ‘मौनता’, घनबहादुर थापा, थर्कबहादुर थापा, चिरन्तन विक्रम राणा, नारायणप्रसाद आचार्य, शारदाप्रसाद भट्टराई ‘वशिष्ठ बन्धु’ ,कविता पोखरेल, सुभाष अधिकारी,शारदा भट्टराई पोखरेल, रीता चालिसे खनाल,आविष्कार कला, कृष्णदेव रिमाल ‘शब्दसेना’, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, बलराम पुडासैनी, अनिल पौडेल, मिमन पुलामी, कृष्णमोहन जोशी, राजु शर्मा, रमेश तिमल्सिना ‘सागर’, शारदा पराजुली लगायत रहनुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रमोद प्रधानले सिर्जनशीलता सबै मानवमा निहित गुण रहेको धारणा राख्दै सिर्जनशीलताको प्रस्फुरणले आनान्दानुभूति दिलाउने विचार प्रकट गर्नुभयो। उहाँले नेपाल विद्युत प्राधिकरणले धेरै साहित्यिक प्रतिभाहरू जन्माएको दृष्टान्त प्रस्तुत गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता कार्यालयको घेराबाट बाहिर निस्केर राष्ट्रियस्तरसम्म पुग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको स्मरण गर्दै भौतिकका साथै भावात्मक बिजुली उत्पादनमा समेत समाज कृयाशील रहँदै आएको विचार प्रकट गर्नुभयो।उहाँले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सक्रिय उपस्थिति जनाउनु हुने सम्बद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सोही अवसरमा सम्पन्न भएको विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशनले ३ वर्षको कार्यकालका लागि विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्यो। समितिका अन्य पदाधिकारीहरूमा शारदा पराजुली (उपाध्यक्ष) , युवराज शर्मा ( सचिव), भोलानाथ शर्मा (सहसचिव) र मुकुन्द प्रसाद प्रसाईं (कोषाध्यक्ष) रहनु भएको छ भने कार्यसमिति सदस्यहरूमा सङ्गीता पौडेल अधिकारी, बलराम पुडासैनी, रीता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र रामराजा ओझा रहनु भएको छ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि,अतिथि स्रष्टाका साथै साहित्य समाजका पूर्व अध्यक्ष एवम् निर्वाचन मण्डलका पदाधिकारीहरू- विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे तथा रामेश्वर राउत मातृदासलाई समाजको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।
सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले गर्नुभएको थियो भने समाजका सदस्य भोलानाथ शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

