काठमाडौं, असोज १७ — आगामी चार दिनसम्म देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ गते (शुक्रबार) देखि २० गते (सोमबार) सम्म अनावश्यक यात्रा टार्न आग्रह गरिएको हो।
जल तथा मौसम विज्ञान विभागले यस अवधिमा ती प्रदेशका विभिन्न जिल्लामा अत्यधिक वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेपछि प्राधिकरणले उच्च सतर्कता अपनाउन आह्वान गरेको हो। विशेषगरी बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहसम्म पुग्न सक्ने भएकाले सतर्कता अति आवश्यक देखिएको छ।
उच्च जोखिममा रहेका क्षेत्रहरू:
बागमती प्रदेश: काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन
कोशी प्रदेश: सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ
मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट
यी जिल्लाहरूमा स–साना नदीमा पनि आकस्मिक बहावको जोखिम उच्च रहेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले पहिरोको उच्च सम्भावना रहेका क्षेत्र, नदी किनारका बस्ती र डुबान सम्भावित स्थानहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, रातिको समयमा यात्रा नगर्न, अत्यावश्यक नपरेसम्म घर बाहिर नजान, र सुरक्षित स्थानबारे जानकारी लिन पनि अनुरोध गरिएको छ।
पूर्वतयारी र आपतकालीन सतर्कता
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवालालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। जोखिमयुक्त सडक र राजमार्गमा डोजर, लोडर, एक्साभेटरजस्ता साधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न भनिएको छ।
साथै, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई वर्षा, सडकको अवस्था र संभावित जोखिमको मूल्यांकन गरी आवश्यक निर्णय लिन र त्यसको कडाइका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिइएको छ।