काठमाण्डौ । कालिकोटबाट लगातार तीन पटक प्रतिनिधिसभा निर्वाचन जितेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्रबहादुर शाहीले चौथोपटक पनि विजय हासिल गरेका छन्। यसपटक उनको जित सहज नहुने अनुमान धेरैले गरेका थिए।
कारण थियो– उनका पुराना सहकर्मी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १८ वर्षपछि संसदीय चुनावी मैदानमा उत्रनु। विपक्षीहरूले ‘पटक–पटक जित्दा कालिकोटले के पायो ?’ भन्ने प्रश्न उठाएर प्रकाण्डले शाहीमाथि दबाब बढाएका थिए।
तर ती सबै अनुमानलाई गलत सावित गर्दै शाहीले अन्ततः शानदार जित निकालेका छन्।
निर्वाचन परिणामअनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रमुख प्रतिस्पर्धी मानिएका प्रकाण्ड भने ४ हजार ५९९ मतसहित चौथो स्थानमा सीमित भए।
शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे। नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार ९३७ मत प्राप्त गरेका छन्।

