धनगढी: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पद र सत्ताका लागि मात्र कम्युनिस्टहरूसँग एकता गर्न नसकिने बताएका छन् ।
धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विचार र मुद्दाका आधार भने एकता सम्भव भएको बताए ।
‘अहिलेको संसदीय व्यवस्था मानेर मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता हुँदैन,’ उनले भने, ‘अहिलेको संसदीय व्यवस्था खारेज गर्न सहमत भए एकताका लागि तयार छौँ ।”
उनले सबै कम्युनिस्ट एकै ठाउँमा आऊन् भन्ने आफ्नो पनि चाहना रहेको भन्दै वर्तमान संविधान खारेज गरी कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागू हुनुपर्ने धारणा राखे ।
निमुखा जनता र राष्ट्रको पक्षमा बोल्दा विगतमा कम्युनिस्टलाई कम्युनिस्ट पार्टीले नै प्रतिबन्ध लगाएको भन्दै दुःख व्यक्त गरे ।
उनले अहिले सत्तामा रहेकाले नै दलितमाथि विभेद गरेको दाबी गरे ।
सम्मेलन सुरु हुनुअघि धनगढीमा प्रदर्शन गरिएको थियो । २९ कात्तिकसम्म हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

