काठमाडौं / नागरिकतासम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी (ठाकुर–महतो समूह) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको पूर्वराजपा धारले सरकारमा जाने आन्तरिक निर्णय लिँदै प्रधानमन्त्री ओलीसँग मन्त्रालय भागबन्डाको विषयमा छलफल थालेको छ ।
नेता शरतसिंह भण्डारीका अनुसार जसपाले लिने मन्त्रालयका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि पार्टीबाट अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिइएको छ । ‘संविधान संशोधनका लागि आयोग निर्माणमा समझदारी र नागरिकता अध्यादेश जारी भएपछि सरकारमा जाने वातावरण बनेको हो, कति मन्त्रालय लिने, कुन–कुन मन्त्रालय लिने र पार्टीबाट को–को सरकारमा जाने भन्ने विषयमा आन्तरिक छलफलमै छौं,’ भण्डारीले भने ।
राष्ट्रपति कार्यालयबाट आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी भएको थियो । संविधान संशोधनको विषयमा पनि प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच पाँच सदस्यीय कार्यदल बनाउने समझदारी जुटिसकेको छ । जसपाको पूर्वराजपा धारले ओली नेतृत्वको सरकारलाई समर्थन जनाउन चारवटा मुद्दा सम्बोधन गर्नुपर्ने सर्त अघि सारेको थियो । जसमध्ये मधेस र थरुहट आन्दोलनसम्बन्धी गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय मात्रै सम्बोधन हुन बाँकी छ ।
सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि विपक्षी गठबन्धनको सरकार बन्न नदिन प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षलाई हात लिएका थिए । त्यतिबेलादेखि नै ठाकुर पक्षले संविधान संशोधन, नागरिकता, तराई–मधेस र थरुहट आन्दोलनका क्रममा आफ्ना कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मुद्दा प्रधानमन्त्री ओलीसँग राखेका हुन् ।
कुनै बेला यिनै विषयमा सबैभन्दा चर्को आलोचक प्रधानमन्त्री ओली नै थिए । उनले नेतृत्व गरेको एमाले (साबिक नेकपा) कै विरोधका कारण प्रतिनिधिसभामा पुगिसकेको नागरिकता विधेयक लामो समयदेखि अड्किएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधन विधेयक पनि ओलीको असहमतिकै कारण संसद्बाट अस्वीकृत भएको थियो । दुई तिहाइ नेतृत्वबाट खुम्चिँदै अल्पमतमा परेका ओलीले आफ्नो सत्ता टिकाउनकै निम्ति ठाकुर पक्षको साथ लिने रणनीतिअन्तर्गत मुद्दा सम्बोधनमा लागेका हुन् ।-इकान्तिपुर

