विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।
विवेकशील साझा पार्टी केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा सो पार्टीका प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ।
साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने भएको छ।नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको सो पार्टीले जनाएको छ । खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ। थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने पनि सो पार्टीको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
