काठमाडौँ: अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको शब फेला परेको छ ।
बाढीपहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकस्थित मेलम्चीमा मंगलबार साँझदेखि परेको पानीका कारण भीषण बाढी आएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार मृतक ७ जना मेलम्ची ट्राउट फर्ममा कार्यरत रहेको खुलेको छ ।
प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले हेलम्बु गाउँपालिका– २ बस्ने ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु– ७ का ज्ञानेन्द्र कक्षपती, हेलम्बुकै ३ नम्बर वडाका १३ वर्षीया टीकामाया खड्का, हेलम्बु– ६ का च्याङ्बा तामाङ, चौतारा साँचोकगढी नगरपालिका घर भएका २३ वर्षीय समुन्द्र नेपालको मृत्यु भएको जानकारी दिए ।
डीएसपी सापकोटाले शव भेटिएकामध्ये ६ जनाको मात्रै पहिचान खुलेको जनाएका छन् ।
