काठमाडौं: दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिला सन्तोसी सुब्बा भएको खुलेको छ ।
प्रहरीका अनुसार कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर आफूसँगै राखेका थिए ।
तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तर, घटनामा उनको संलग्नता भने नदेखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।
उनी धनबहादुरसँग १५/१६ वर्षदेखि बस्दै आएको देखिएको छ । प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएको महानगरीय अपराध महाशाखाका एक अधिकृतले बताए ।
सन्तोषीको घाँटीमा सलले कसिएको र अनुहार चिन्न नसक्ने गरी किचिएको थियो ।
घटनास्थलमा एउटा बट्टामा एउटा गंगटो समेत फेला परेको छ । मास्क र चप्पल पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरी अधिकारीका अनुसार उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । उनको पेट बढेको देखिन्छ । प्रहरी अधिकारीहरुले उनी गर्भवती भएको हुन सक्ने पनि आशंका गरेका छन् । अवैध सम्बन्ध खुल्ने डरले पनि उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ
प्रहरीका अनुसार सन्तोषीले आफ्नो गलाबाट थरीथरीका आवाज निकाल्ने गर्थिन् । उनका केही भिडियो समेत युट्युबमा छन् । उनले कोइली, काग, कुखुरा, ढुकुरलगायतको आवाज निकालेको कतिपय भिटियो युट्युबमा भेटिन्छ ।
