काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा दोस्रो दिनको बहस सुरु भएको छ । आजको बहसमा निवेदकका तर्फबाट पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले बहस शुरु गर्नुभएको छ ।
हिजो वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की, महादेव यादव, खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता थापाले देउवालाई प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका २७५ सांसदमध्ये १४९ ले हस्ताक्षरसहित बुझाएको आधार नै संसदमा विश्वासको मत प्राप्त गर्ने बलियो आधार रहेको बताउनुभएको थियो ।
अर्का वरिष्ठ अधिवक्ता यादवले ७६(५) बमोजिम प्रधानमन्त्रीको पदका लागि देउवालाई समर्थन गरेका १४९ प्रतिनिधिसभाका सांसद दल नभई सभाका सदस्य भएको जिकिर गर्नुभएको थियो । उहाँले राष्ट्रपति भण्डारीले संविधानको अधिकार प्रयोग गर्ने नभई संविधानले दिएको कर्तव्य निर्वाह मात्र रहेको उल्लेख गर्नुभएको थियो ।

