काठमाडौं: राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ।
खिम्तीको सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।
खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको जानकारी प्राप्त भएको छ ।
यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुने छ ।यसबाट काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुने बताइएको छ ।
यस परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
