काठमाडौं: कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ ।
गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् ।
दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्युदर शून्य रहेको थियो ।
प्रदेशमा अहिलेसम्म ४३ हजार ४४२ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।
दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

