बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो ।
अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउने एमालेका एक नेताले रातोपाटीलाई बताए । ती नेताले भने, ‘पूर्वमाओवादी साथीहरुले परिषदमा राख्नका लागि ५६० जनाको नाम पठाउनुभएको छ, १६ गते आयोजक समितिको बैठकबाट सबै नामहरुको टुंगो लाग्छ ।’
पुस ५ मा संसद विघटन गरेपछि ओलीले ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए । तर, दोस्रोपटक संसद विघटन गर्ने बेलासम्म आइपुग्दा २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइयो र ११९९ मध्येका बाँकीलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा परिवर्तन गरियो ।
परिषदमा केन्द्रीय सदस्यहरुसमेत पदेन सदस्य हुने भएकाले हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय नै छ । यसमा ५६० जनाको नाम थप्न पूर्वमाओवादीले माग गरेको छ ।
आइतबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटीको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीका नेताहरुको नाम थप्नेबारे छलफल भएको स्रोतले बतायो । अब असार १६ गते बस्ने आयोजक समितिको बैठकले परिषदमा ती नामहरु थप गर्ने एमाले का एक नेताले बताए ।

