काठमाडौं: अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।
“अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्,” विज्ञप्तिमा भनिएको छ।
बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो।
इरानमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका छन्। इरानले आफ्नो संलग्नता नरहेको बताएको छ।
पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो। ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल-शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ।
सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ।
विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ।-BBC

