सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।
ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
आज बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए।
‘११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ,’ उनले भने।
संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ।
अघिल्लो सरकारले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइनलगायत देशमा राजदूत नियुक्त गरेको थियो।
साथै प्रवक्ता कार्कीका अनुसार भारतसँग अब सातामा भारतमा तीन वटा फ्लाइट हुनेछ। यसअघि सातामा एक फ्लाइट मात्र हुने गरेको थियो।
