नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहानै भेटवार्ता भएको छ। नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।प्रचण्डले नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवास पुगेर भेटेका हुन्।
नेपाललाई भेट्न प्रचण्ड बिहान सवा ८ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार प्रचण्ड झण्डै एक घण्टा भेट गरेर नेपाल निवासबाट बाहिरिएका छन्। पार्टी निर्देशन विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरे पनि आफूहरुले स्पष्टीकरण पत्र प्राप्त नगरेको सांसदहरुले बताएका छन्। सो बैठकमा नेपाल पक्ष भने सहभागी भएको थिएन। एमालेको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दै छ।

