प्रहरी प्रधान कार्यालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत सुरक्षा अधिकृत-उपरीक्षक-डीएसपी खटाएको छ। केही समय अघि फिर्ता बोलाइएका डीएसपी विनोद घिमिरेलाई फेरि प्रचण्डको पीएसओको रुपमा खटाइएको हो।
गृह मन्त्रालयले केही समय अघि विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी मापदण्ड परिमार्जन गरि पूर्व प्रधानमन्त्रीलाई १६ जना सशस्त्र प्रहरी र दुई जना नेपाल प्रहरी दिने व्यवस्था गरेको थियो।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मी बढाइएको मात्र छैन, पीएसओका रुपमा पनि डीएसपीलाई पठाइएको हो। माधव कुमार नेपाललगायतका नेताको सुरक्षामा पनि सुरक्षाकर्मी बढाइएका छन्।
नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी मापदण्ड सामान्य परिस्थितिका लागि भएको बताए। सुरक्षा खतरालाई ध्यान दिएर सुरक्षाकर्मीको संख्या थपघट हुनु स्वभाविक भएको उनले बताए। प्रधानमन्त्रीको पीएसओ डीएसपी बस्ने प्रावधान छ।

