जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्।
ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको छ।
जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ। ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ। आज प्रधानमन्त्रीसँगको भेटमा यी दुईबीच यस विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन्। ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बुझिएको छ।
यस्तै जसपाको अर्को खेमा उपेन्द्र यादव समूहले सात मन्त्रीसहित एक राज्यमन्त्रीमा दाबी गर्दै आएको छ। नेकपा एमालेको माधव नेपाल समूहलाई पनि मन्त्रालयको भागवण्डा छुट्याउनु पर्ने छ। यस्तै माओवादी केन्द्रलाई पनि अर्को भागवण्डा छुट्याउनु पर्ने सकस देउवालाई छ।
असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले माओवादी केन्द्रबाट दुई र कांग्रेसबाट दुई मन्त्रीसहित २९ गते नै शपथ लिएका थिए।

