आधुनिक नेपाली चित्रकलालाई थप फराकिलो बनाएका वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ। केही समययता मुटुको समस्या भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत अवस्थामा निधन भएको हो।
१९९४ सालमा असनमा जन्मेका नेपालीको बाल्यकाल व्यापारी पिताको साथ भारत लखनउमै बितेको थियो। उताको बसाइ र अध्ययनले नै उनलाइ कलासँग नजिक्याएको थियो।
नेपाली कला क्षेत्रलाई प्रतिनिधित्व गरेर प्राज्ञका रूपमा प्रज्ञा प्रतिष्ठानमा उपस्थिति जनाउने बांग्देलपछिका अग्रजमध्ये नेपाली पनि पर्थे। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत छन्।
क्यानभासमै कविता लेखेर भावना प्रकट गर्ने जस्ता काम ३० को दशकमै थालेर आधुनिक नेपाली चित्रकलामा प्रयोगधर्मीता पनि भित्र्याएका नेपाली चित्रकारिताबाहेक कविता र गीत लेख्नेदेखि लिएर अभिनयसमेत गर्थे। उनले पचास वर्षअघि राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए भने अरू पनि थुप्रै सम्मानबाट विभूषित थिए।
‘उत्तम नेपालीका कविताहरू’ ०६१ सालमा प्रकाशित भएको थियो भने नेपाली चलचित्र श्यामश्वेत कालमै रहँदा ‘परिवर्तन’ मा अभिनयसमेत गरेका थिए। नेपालीका दुइ छोरी छन्।
