काठमाडौँ: नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गरिएको उपचार खर्च व्यहोर्न नमिल्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
नेता थापाले नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने अघिल्लो सरकारको निर्णय गैरकानुनी भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
“२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कान्न २०७५/६/२ गतेदेखि लागु भइसकेको छ,” थापाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै लेखेका छन् ।
उनले अहिले खनालको स्वास्थ्योपचारको चर्चा भइरहेको र त्यसमा उनको पार्टीले पहल गरिरहेको भन्दै अप्ठेरो अवस्था भए सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
थापाले खनालको उपचारका विषयमा अनावश्यक चर्चाले उनको कद घटाउने पनि बताएका छन् । “कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानु्नविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ,” थापाले भनेका छन् ।
