प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले देउवालाई बधाई दिएका हुन्
उनले देउवासँग सम्बन्धित केही पुराना घटनाहरू सुनाएर उनलाई कटाक्ष गरेका हुन्। नेम्वाङले आफ्नो दलले देउवाबाहेक कांग्रेसका अरू कुनै नेतासँग गठबन्धन नगर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विपक्षी गठबन्धनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएको थियो ।नेम्वाङले जनताका आदेशबाट नभई अदालतको आदेशबाट प्रधानमन्त्री बनेकाे पनि बताए ।
सर्वोच्च अदालतको आदेशमा आफूहरूको असहमति भए पनि आफूहरूले त्यसलाई कार्यान्वयन गर्ने बताए। आज प्रतिनिधि सभामा प्रधानमन्त्री देउवालाई बधाई दिने कार्यसूची छ।
उनले नयाँ सरकार बनेपछि स्वाभाविक रूपमा आफूहरू प्रतिपक्षमा पुगेको भन्दै आफूहरू जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न तयार रहेको बताए ।
उनले सर्वोच्चको पछिल्लो फैसलाले संविधानको अक्षर भावना, बहुलवादमा आधारित लोकतन्त्र, शक्ति पृथकीकरणलगायतका विषयमा कमजोर तुल्याएको बताए । ‘सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित हुन्छ यो लोकतन्त्रको विशेषता हो’, नेम्वाङले भने, निर्वाचनमार्फत जनताका प्रतिनिधिहरू चयन हुन्छन्,त्यसले मुलुकको शासन व्यवस्था सञ्चालन गर्छ तर ताजा जनादेशमा जानेकुरा निरङ्कुश भन्नुहुँदैन । प्रश्न उठे पनि छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । सबै अङ्गबीच नियन्त्रण र सन्तुलन हुनुपर्छ । तर अहिले राज्यका तीन अंगका बीचमा सन्तुलन खलबलिन पुगेको छ भन्ने हाम्रो बुझाई छ’, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै नेम्वाङले एउटा दलबाट निर्वाचित भएर आएका सांसदहरू सभामुखको दाहिने र देब्रेतर्फ बस्ने अवस्था आउनु राम्रो नहुने भन्दै सभामुखमार्फत संसद्को ध्यानाकर्षण गराए ।
उनले आफ्नो पार्टीले सरकारले गरेका ठिक कुरामा सहयोग गर्ने तर गलत कुराको निगरानी पनि गर्ने बताए । ‘हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौ । सरकार कहिले के गर्दैछ भन्ने हेर्छौ’, नेम्वाङको भनाइ छ । उनले विगतमा राष्ट्रिय राजनीतिका बारेमा अमुक नेताहरूसँग छलफल गर्नुपरेको भन्दै पुन त्यस्तो अवस्था आउन नपरोस् भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

