सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। साउन ११ गते यादव पक्षले जसपाको आधिकारिकता पाएपछि महन्थ ठाकुर साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेका थिए।
बुधबार प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै यसअघि ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदन सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो।
ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएको विषयले कानुनी रुपमा समेत वैधता पाएको छ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको प्रकृयालाई अवलम्बन गरी दलको आधिकारिकताको विवाद निरुपण गरेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको सर्वोच्चको आदेशमा उल्लेख छ।
