विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरूको वार्षिक सूची प्रकाशित गरेको छ। बुधबार सार्वजनिक गरिएको उक्त सूचीमा १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २,९३३ व्यक्तिको नाम समावेश गरिएको छ।
सूचीको शीर्ष स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन्। अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुखसमेत रहेका उनले ३०० अर्ब डलर सम्पत्तिसहित पहिलो स्थान हासिल गरेका छन्। त्यसैगरी, फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग २१६ अर्ब डलरसहित दोस्रो र अमेजनका संस्थापक जेफ बेजोस २१५ अर्ब डलरसहित तेस्रो स्थानमा छन्।
अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने मुलुक बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोर्ब्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ स्थानमा अमेरिकी नाम रहेको छ । अमेरिकापछि चीन (हङकङ सहित) ५१६ अर्बपतिसहित दोस्रो स्थानमा रहेको छ भने भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ ।
नेपालबाट भने अर्बपतिको सूचीमा विनोद चौधरीको मात्र नाम समावेश छ। उनले २ अर्ब डलर सम्पत्तिसहित १,७६३औं स्थान प्राप्त गरेका छन्। गत वर्ष १.८ अर्ब डलर सम्पत्ति रहेका उनको यो वर्ष सम्पत्तिमा २० करोड डलर वृद्धि भएको फोर्ब्सले उल्लेख गरेको छ।

