काठमाण्डौ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँच समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न चेतावनीसहित सूचना गरेको छ । दिईएको समयभित्र ऋण चुक्ता नगरेमा असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि सूचनामा दिइएको छ ।
बागमती सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र समितिको बैंक खातामा बुझाउन सुचित गरिएको छ ।
२०८२ भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानी साँवा, ब्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
विभिन्न मितिमा समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारीको ऋण असुलीसम्बन्धी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ ।
यस्तो छ कान्तिपुर दैनिकमा शुक्रबार प्रकाशित सूचना …


