काठमाण्डौ । प्यालेस्टाइनलाई फ्रान्सले देशको मान्यता दिने भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति म्याक्रोँले आगामी सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रुपमा मान्यता दिने बताएका छन् ।
म्याक्रोँले न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामार्फत् प्यालेस्टाइनलाई मान्यता दिएको घोषणा गर्ने सोसल मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेका छन्।
गाजामा युद्ध अन्त्य गर्न र नागरिकको जीवन सुरक्षित गर्न प्यालेस्टाइनलाई देशको मान्यता दिनुपर्ने आवश्यकता रहेको म्याक्रोँको भनाइ छ।
तत्काल युद्धविराम, सबै बन्धकको रिहाई र गाजाका नागरिकका लागि ठूलो मात्रामा मानवीय सहायताको आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।
म्याक्रोँको यो निर्णयको प्यालेस्टाइनी अधिकारीहरूले स्वागत गरेका छन् भने इजरायलले आलोचना गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फ्रान्सको निर्णय आतंकवादलाई प्रोत्साहित एवम् पुरस्कृत गर्ने कदम भएको टिप्पणी गरेका छन्।
हाल प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघमा आबद्ध १९३ मध्ये १४० भन्दा बढी देशले मान्यता दिएका छन्। तर, इजरायलका मुख्य सहयोगी देश अमेरिका, बेलायतलगायतले प्यालेस्टाइनलाई मान्यता दिएका छैनन्।
फ्रान्सको निर्णय गाजामा भइरहेको इजरायली नरसंहारविरुद्धको एक कदम भएको विश्लेषण छ।

