काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठकमा सरकार र भ्रष्टाचारबीचको सम्बन्धलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच तीव्र जुहारी चलेको छ। विपक्षी सांसदले सरकारलाई भ्रष्टाचारको पर्याय भएको आरोप लगाए भने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको कडा प्रतिवाद गर्दै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध रहेको दाबी गरे।
प्रतिपक्षीको आरोप: सरकार नै भ्रष्टाचारको मुख्य दोषी
नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मुलुकमा बढ्दो भ्रष्टाचारको लागि सरकारलाई नै मुख्य जिम्मेवार ठहर्याए। उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै प्रभावकारी कदम नचालेको आरोप लगाउँदै भने, “अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार हो। भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ। सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्।”
प्रधानमन्त्रीको प्रतिवाद: भ्रष्टाचारीलाई कारबाही गर्दा कसरी मौलायो भ्रष्टाचार ?
राष्ट्रिय सभाका सांसद शर्माको आरोपको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरे। उनले भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलाएको भन्ने आरोप लगाइएको भन्दै आपत्ति जनाए। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद शर्मालाई प्रश्न गरे, “भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने ? म भ्रष्टाचार गर्न दिन्नँ। कसैले गर्यो भने कारबाही हुन्छ। सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ।”
प्रधानमन्त्री ओलीले देशको विकास र आर्थिक सम्वृद्धिका लागि सबै मिलेर साझा प्रयासका साथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिए।
संसद भित्रको बुधबारको जुहारीले संसदभित्र सरकारको कामकारबाही र भ्रष्टाचार नियन्त्रणको विषयमा देखिएको मतान्तरलाई प्रस्ट पारेको छ।

