काठमाण्डौ । सङ्घीय संसद्का चारवटा महत्त्वपूर्ण समितिको बैठक आज, सोमबार बस्ने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।
आजको बैठकका प्रमुख एजेन्डा
अर्थ समितिको बिहान ११ बजे बस्ने बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहान ११ बजे नै सुरु हुने बैठकमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट- २०२५’ सम्बन्धी विषयमा छलफल हुनेछ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:३० बजे बस्ने छ भने बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ।
त्यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ।
यसैबीच, आज बस्ने भनिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने स्थगन भएको छ।

