काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गरेको ग्यासगन र गोली लुटपाटमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेपलान्चोक महाभारत गाउँपालिका–१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) लाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार तामाङ भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए। उनलाई त्यसअघि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
कात्तिक १३ गते साँझ काठमाडौं महानगरपालिका–७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घर अगाडि प्लास्टिकमा बेरिएको कालो झोला कुर्सीमाथि फेला परेको थियो। त्यस झोलामा ग्यासगनको बट र नाल छुट्याइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङकै भएको प्रमाणित भएपछि उनलाई कात्तिक १४ गते साँझ पक्राउ गरिएको हो।
उनको डेराबाट तीन थान गोली समेत बरामद गरिएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए। पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

