काठमाडौं । नियमित महाधिवेशनको माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्।
शुक्रबार बिहान उनीहरूले पार्टी कार्यालयको मूल गेटमा ताला लगाउँदै प्रदर्शन गरेका हुन्। उनका अनुसार पार्टीले लामो समयदेखि महाधिवेशनको मिति सार्वजनिक नगरेपछि असन्तुष्ट कार्यकर्ताहरूले तालाबन्दी गर्न बाध्य भएका हुन्।
कार्यक्रममा सहभागी विद्यार्थी नेता भुवन भट्टले केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित भइरहेकाले पार्टी “अनिर्णयको बन्दी” बनेको टिप्पणी गरे। उनका अनुसार केन्द्रीय समिति बैठक २८ असोजदेखि सुरु भए पनि निरन्तर स्थगित हुँदै आएको छ।
शुक्रबारका लागि बोलाइएको बैठक पनि नबसी मंगलबारका लागि सारिएको थियो। यही असन्तुष्टिका बीच युवाहरूले महाधिवेशनको मिति सार्वजनिक गर्न तथा पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।
तालाबन्दीमा सहभागी अधिकांश युवा नेता शेखर कोइराला निकट समूहका रहेका छन्।

