काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ। मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले यस्तो निर्णय गरेको हो।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘हामीले गर्न सक्ने स्थानीयका समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।
‘सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको छ। त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो। काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौँ ।
शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको बताए।
बैठकले मोटामोटी तीन–चार वटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौँ उपत्यकाको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाउने भयो । पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने चेतावनी दिए।
