म्याग्दी —बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र भएको एक महिनामै भत्किन थालेपछि स्थानीय जनप्रतिनिधि र उपभोक्ताले मापदण्डअनुसार सुधार गर्न दबाव दिएका छन्। सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत कालोपत्त्रे गरिएको सडक खण्डमा खाल्डाखुल्डी बनेको हो।
वडा नं १ का अध्यक्ष टेकबहादुर थापा, वडा नं २ का अध्यक्ष यामबहादुर कार्की र पूर्वअध्यक्ष हिराबहादुर थापासहित स्थानीयवासीले सडक डिभिजन कार्यालय पुगेर विष्णु लामिछाने (निमित्त प्रमुख) र निर्माण कम्पनी गजेन्द्र–नयाँ बाटो जेभीका आयोजना व्यवस्थापक अरुण सेढाईंलाई प्रत्यक्ष निरीक्षण गराएका छन्।
वडा नं २ का अध्यक्ष कार्कीका अनुसार, “बेसको धुलोका कारण बिटुमिन जम्न सकेन र दुई चरणमा गरिएको कालोपत्र कार्पेट जस्तो भएको छ।” सडकको चौडाइ नौ मिटर भए पनि सात मिटर चौडाइमा डिबिएसटी गर्ने सम्झौता गरिएको थियो।
उक्त ठेक्का २०७९ भदौ ६ गते रु २३ करोड ३२ लाखमा गजेन्द्र–नयाँ बाटो जेभीले पाएको थियो।

