काठमाडौँ । डडेल्धुराको आलितालमा अटो र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा अटोमा सवार परशुराम नगरपालिका–१० जोजला निवासी २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकी करिब ८ः४० बजे आलिताल गाउँपालिका–४ जाल्टुडामा विपरीत दिशाबाट आइरहेको म १ च ४४१ नम्बरको जीप र बुडरबाट जोगबुडा जाँदै गरेको भि.न.पा. ००१ ह ०४०८ नम्बरको अटो एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा अटोमा सवार अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सबिता थापामगर गम्भीर घाइते भएकी छन्। उनको जोगबुडा अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
दुर्घटनापछि अटो चालक गोपाल मगर फरार रहेका छन् भने जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
(नोट: समाचारमा प्रयुक्त तस्विर संकेतको लागि मात्र हो ।)

