काठमाडौंबाट ५ बङ्गलादेशीको उद्धार, गिरोहका ७ जना पक्राउ
काठमाडौं । इटालीमा रोजगारीको व्यवस्था मिलाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बन्धक बनाइएका पाँच जना बङ्गलादेशी नागरिकको सकुशल उद्धार गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–८, भङ्गालस्थित एक घर भाडामा लिएर उनीहरूलाई नियन्त्रणमा राखिएको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। छापाका क्रममा पाँच जना बङ्गलादेशी नागरिकलाई बन्धक रहेको अवस्थाबाट मुक्त गरिएको हो।
पक्राउ पर्नेमा बङ्गलादेशी नागरिक ३८ वर्षीय आल मामुन, काठमाडौंका ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन्। यस्तै भारतका ४१ वर्षीय सरोजकुमार र नुवाकोट स्थायी घर भई हाल तारकेश्वर बस्ने ३२ वर्षीय शशि पाठक पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई इटाली पठाइदिने आश्वासन दिई बङ्गलादेशबाट काठमाडौं बोलाइएको र त्यसपछि बन्धक बनाई ठगी गरिएको थियो।
घटनामा संलग्नमाथि शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले मानव तस्करी तथा ठगीसँग सम्बन्धित यस घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिए।

