झापा । झापामा पहिलोपटक अन्तरराष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी, आसामले प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सुरुआत गरेको छ।
उद्घाटन खेलमा आसामले जीएचसिए काठमाडौँलाई ४२ रनले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोड्यो। टस जितेर पहिला ब्याटिङ गरेको आसाम १८.१ ओभरमा अलआउट हुँदै ९६ रनमै समेटिएको थियो। जवाफमा काठमाडौँको टोली १६.२ ओभरमै ५४ रनमा अलआउट भएपछि आसाम सहज जिततर्फ अघि बढेको हो।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। प्रतियोगितामा नेपाल र भारतका चार–चार गरी कुल आठ टिम सहभागी छन्।
आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलका अनुसार सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र अङ्क तालिकाका आधारमा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ नगदसहित शिल्ड पाउनेछ। क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार नेपालतर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारततर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमका टोली सहभागी छन्।
बिहीबार (आज) दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको दिल्लीले विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबले जीएचसिए काठमाडौँको सामना गर्नेछ।

