काठमाडौँ / सर्लाही । नेपाली कांग्रेसका सभापतिले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन्। काठमाडौँबाट कोट–पाइन्टमा मधेस झरेका उनले त्यहाँको पहिचान झल्किने कुर्ता, पायजामा, गमछा र मिथिलाको पागमा सजिएर घरदैलो, कार्यकर्ता भेटघाट र भेला लगायतका कार्यक्रम गरिरहेका छन्।
प्रचार अभियानअन्तर्गत सर्लाही ४मा बसाइँका क्रममा उनले पार्टी प्रवेश कार्यक्रम पनि स्थानीय पहिरनमै सम्पन्न गरेका छन्। सर्लाहीका चारवटै क्षेत्रमा भेटघाट र भेला गरेका उनले विशेष समय सर्लाही–४ केन्द्रित घरदैलो कार्यक्रममा बिताएका छन्।
घरदैलोका क्रममा उनले क्षेत्रका समस्या र विकासका सम्भावनाबारे स्थानीयसँग छलफल गर्दै मतदाताका घर–घर पुगेर समस्या बुझेका छन्। निर्वाचनपछि तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव मनिष कुमार मिश्र, वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेता विना सिन्हा र केदार सिंह ठटौलासहितका नेता–कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको छ।
अचलगढमा आयोजित कार्यक्रममा कांग्रेस सभापति थापाले आफू मधेसमा सुरुमा आगन्तुकजस्तै भएर आएको तर अब यहीँको परिवारको अंग बन्ने प्रक्रिया सुरु भइसकेको बताए। सभापति भएपछि सहजता भए पनि नयाँ सोचका साथ मधेसबाटै जितेर आउनुपर्ने आवश्यकता महसुस गरेर चुनाव लड्न आएको उनले बताए।
आगामी पाँच वर्ष बहुमतसहित कांग्रेसले सरकार चलाउने दाबी गर्दै उनले मधेसी जनताको अधिकारका नाममा खुलेका दलहरूको “खुद्रा पसल बन्द हुने” टिप्पणी गरे। सबै वर्ग, समुदाय—मधेसी, दलित, आदिवासी, जनजाति र मुस्लिमका मुद्दा पूरा गर्ने पार्टी कांग्रेस भएकाले मधेसमा नयाँ पार्टी खोलेर जनतालाई ठग्ने प्रवृत्ति अब अन्त्य हुने उनले बताए।

