काठमाडौँ । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारका क्रममा शनिबार साँझ निधन भएको हो ।
परिवारका अनुसार करिब एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो। स्वास्थ्यमा केही सुधार आएपछि घर फर्किएका उनी केही दिनअघि पुनः अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो।
२००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक मानिन्छन् । पञ्चायती व्यवस्थामा उनले महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गरेका थिए।
राप्रपाको निर्माण र संगठन विस्तारमा पनि उनको उल्लेखनीय योगदान रहेको थियो। उनी एक समय नेपाली कांग्रेसको महामन्त्रीसमेत बनेका थिए। राजा महेन्द्रले १ पुस २०१७ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई हटाएर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्रीसमेत भएका थिए।
स्वर्गीय थापाका दुई छोरी र दुई छोरा छन्।
उनको पार्थिव शरीर आज बिहान श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

