संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो। त्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।
मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटना स्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो।
लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए। पक्राउ परेका चारै जना माथि म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ।
