काठमाडौं, कात्तिक २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनलाइन प्रणालीमार्फत हुन गइरहेको एक सय रुपियाँ सङ्कलन अभियान आजैदेखि सुरु हुने भएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि खर्च जुटाउन पार्टीमा सङ्गठित साढे सात लाख सदस्यहरुले पार्टीको खातामा कम्तीमा एक सय रुपियाँ सङ्कलन गर्नुपर्ने बताइए अनुरुप यसका लागि आवश्यक अनलाइन प्रणाली पनि आजदेखि नै सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
कम्तिमा एक सय रुपैयाँदेखि पैसा राख्न सजिलो खालको प्रणाली आज भरेदेखि नै सुरु हुन्छ । आज दशौं महाधिवेशन स्थल चितवनको निरीक्षण भइरहेको छ । पार्टीका संगठित सदस्यहरु, शुभेच्छुक र समर्थकहरुले आफ्नो इच्छा अनुसार सहयोग गर्न सक्ने बताइएको छ ।
दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्न गइरहेको एमालेले सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गर्ने तयारी अगाडि बढाएको पनि उनले बताए । चितवनमा महाधिवेशन हुने भएपछि चितवनका स्थानीयहरु पनि उत्साहित छन् ।
एमालेले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखको संख्यामा सर्वसाधारण उतार्ने गरि तयारी अगाडि बढाइरहेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजनाको मूल व्यवस्थापन समितिको संयोजकमा माओवादी केन्द्रका पूर्व नेता हालका एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल रहेका छन् ।

