काठमाडौँ, कात्तिक २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने भएको छ । सरकारले दिएको अनुुदान बजेट बाँकी रहेकाले कम्पनीले सुुपथ मूल्य पसल आउँदो माघी पर्वसम्म सञ्चालन गर्ने भएको हो । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । कम्पनीका सूचना अधिकारी शर्मिला सुुवेदीले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न कम्पनीलाई दिएको अनुुदान रकम पनि बाँकी रहेको र हाम्रा विभिन्न जातजातिका चाडपर्व पनि बाँकी रहेकाले खाद्य कम्पनीले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिइन् । कम्पनीले उपत्यका चार स्थानसहित ३९ जिल्लामा गरी ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य कम्पनीले चामल, दाल, फापर पिठोमा प्रतिकेजी पाँच रुपियाँ, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच रुपियाँ छुट दिने भएको छ भने भटमासको तेल प्रतिलिटरमा १० रुपियाँ, खसीबोकाको जिउँदो मासुु प्रतिकेजीमा १० रुपियाँ छुुट दिएको थियो । यसैगरी उपभोक्ताले कर्णालीको सिमी र फापरको दानामा प्रतिकेजीमा १० छुट पाएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण बढी भीडभाड नहोस् भन्ने उद्देश्यले सरकारले गत वर्षभन्दा यो वर्ष एक साता अगाडि सुुपथ मूल्य पसल सञ्चालनमा
ल्याएको छ ।

