कात्तिक २८ गते । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा हिमपहीरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट हिमपहिरो खसेको हो । अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी छैन ।

थासाङ गाउँपालिका– २ का अध्यक्ष नरप्रसाद हिराचनकाअनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ । दुई जना कृषक सकेन्द्र गौचन र भिमप्रसाद थकालीले त्यस क्षेत्रमा १५० चौरी पालेकोमा आइतबार मध्यान्ह पौने १२ बजे हिमपहिरो जाँदा सबै चौंरी पुरिएको अध्यक्ष हिराचनले जानकारी दिए । वडा अध्यक्ष हिराचनकाअनुसार हिमपहिरो जाँदा रत्नदेवी तुलाचनको घरमा क्षति भएको छ ।
प्रदेश सांसद महेन्द्र थकाली, चन्द्रमोहन गौचन, सुरक्षा समिति मुस्ताङका सदस्यहरु सबै घटनास्थलमा पुगेको गण्डकी प्रदेशसभा सांसद चन्द्रमोहन गौचनले बताए । सांसद गौचनले क्षति कम गर्न र उद्धारमा खट्न सुरक्षा निकाय तथा युवाहरुलाई निर्देशन गरिएको बताउनुभयो ।
