नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ। च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान साढे ११ बजे सुरू भएको बैठक जेठ २ अघिको संरचना अनुसार १० औं बैठक भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आइतबारमात्रै नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए। एमालेका १२१ सांसदमध्ये केहीले पक्षमा मत दिएका थिए, केहीले विपक्षमा मत हालेका थिए भने केही मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।
असन्तुष्ट माधव नेपाल पक्षले उठाउँदै आएको माग अनुसार नै बैठक बसे पनि नेपाल पक्षले एकलौटी रूपमा बैठक बोलाएको भन्दै अनुपस्थित रहेको छ।
आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
जेठ २ अघिकै संरचना अनुसार बैठक बसेको भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने निर्णय गरेको थियो। नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ।
विवाद कार्यदलमा सदस्य रहेका नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको बताए। हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गरिरहेका छौं बिष्टले भने।

