इराकको राजधानी बग्दादको व्यस्त बजार क्षेत्रमा भएको बम आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। इदको किनेमेलका लागि मानिसहरुको भिड भएका बेला बजार क्षेत्रमा बम आक्रमण भएको हो।
बग्दादको उत्तरी सद्री बजार क्षेत्रमा बिस्फोट भएको हो। मंगलबारको इदका लागि किनेमेलका लागि गएका मानिसहरु बिस्फोटमा परेका हुन् । घटनामा धेरै मानिस घाइते भएका स्थानीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो ६ महिना यता बग्दानमा भएको यो ठूलो बम आक्रमण हो। इस्लामिक स्टेट (आइएस) ले बिस्फोटको जिम्मेवारी लिएको छ। आफ्ना एक सदस्यले आत्मघाती बिस्फोट गराएको आइएसको भनाई छ।
इराक सरकारले सन् २०१७ को अन्त्यमा आइएसविरुद्ध जितको घोषणा गरेको थियो। तर त्यसयता पनि यस्ता आक्रमण आइएसले गर्दै आएको छ।

