काठमाडौं: ब्राजिल ओलम्पिक फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । तर सन् २०१६ को उपविजेता जर्मनी भने बाहिरिएको छ ।
ब्राजिल सन् २०१६ ओलम्पिकको विजेता हो । एभर्टनका स्ट्राइकर रिचार्लिसनले उत्तराद्र्धतिर दुई गोल गरेपछी समूह डी को अन्तिम खेलमा ब्राजिलले सऊदी अरेबियालाई ३–१ ले हराउँदै समूह विजेता भयो ।
आइभोरी कोष्ट समूहको उपविजेता भएको छ । जर्मनी बिरुद्ध उसले १–१ को बराबरी खेलेपछि समूहमा दोस्रो स्थानमा रहन सफल भयो । जर्मनीले क्वार्टरफाइनलमा पुग्न आइभोरी कोष्टलाई हराउनैपर्ने थियो ।
समूह बी मा दक्षिण कोरियाले होण्डुरसलाई ६–० ले हराएर समूह विजेता हुँदै क्वार्टरफाइनलमा प्रबेश गरेको छ । न्युजिल्याण्डले रोमानियालाई गोलरहित बराबरीमा रोक्दा ऊ समूह बी को उपविजेता रहन गयो ।
आयोजक जापानले भने समूह चरणको तीनवटै खेल जितेर क्वार्टरफाइनलमा न्युजिल्याण्ड बिरुद्धको स्पर्धा सुनिश्चित गरेको छ । जापानले योकोहामामा फ्रान्समाथि ४–० को फराकिलो अन्तरको जित हात पार्यो ।

