काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा. सङ्गीता सिंह भण्डारी सहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भण्डारी नेतृत्वमा रहेको टोलीले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बदनियतपूर्वक कम गुणस्तरका उपकरण खरिद गरेको र बजेट मागदेखि खरिदसम्मको सम्पूर्ण प्रक्रिया मिलेमतोमा चलाएको देखिएको छ।
अनुसन्धानपछि आयोगले भण्डारीमाथि १२ करोड ७ लाख ६० हजार ९४५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो। सो प्रकरणमा तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी लगायतका अधिकारीहरू पनि प्रतिवादी बनेका छन्।
त्यस्तै, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, श्रीराम चौधरी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अञ्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, र लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोस्टराज ज्ञवाली विरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

